काठमाडौँ, असार २५ गते। औषधि व्यवस्था विभागले न्यून गुणस्तरका ठहरिएका दुई प्रकारका औषधि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना श्री राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि सम्बन्धित ब्याचका औषधिको बिक्री–वितरण रोक्न र तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।
विभागका अनुसार AGLOCEF (Ceftriaxone Injection IP) को ब्याच नम्बर N452501 (उत्पादन मिति: अप्रिल २०२५, म्याद: सेप्टेम्बर २०२७) भारतीय औषधि मापदण्ड (Indian Pharmacopoeia–2022) अनुसार ब्याक्टेरियल इन्डोटक्सिन परीक्षणमा असफल भएको पाइएको छ। उक्त औषधि भारतको Aglowmed Ltd. ले उत्पादन गरेको हो भने नेपालमा Shublabh Pharma Link, वीरगञ्ज ले आयात गरेको विभागले जनाएको छ।
त्यसैगरी ADOXY (Doxycycline Capsules IP 100 mg) को ब्याच नम्बर C-81060 (उत्पादन मिति: डिसेम्बर २०२४, म्याद: नोभेम्बर २०२६) पनि भारतीय औषधि मापदण्ड–२०२२ अनुसार Uniformity of Weight परीक्षणमा असफल भएको विभागले जनाएको छ। उक्त औषधि Apex Pharmaceuticals Pvt. Ltd., वीरगञ्ज द्वारा उत्पादित हो।
विभागले सम्बन्धित उद्योग, आयातकर्ता, वितरक तथा औषधि पसललाई उल्लेखित ब्याचका औषधिको बिक्री–वितरण तत्काल रोक्न, बजारबाट फिर्ता गर्न तथा त्यसको विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ। साथै, स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई पनि ती ब्याचका औषधिको सिफारिस, बिक्री तथा प्रयोग नगर्न अनुरोध गरेको छ।
