काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाहले पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको भन्दै होटल व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्न आग्रह गर्नुभएको छ।
होटल सङ्घ नेपाल (हान) का पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रलाई सरकारको प्रमुख साझेदारका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कानुनको पालना, करको दायरामा विस्तार तथा सार्वजनिक–निजी साझेदारी (PPP) का सम्भावनाबारे अध्ययन गर्न आग्रह गर्नुभयो।
छलफलमा हानले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम भए पनि हाल करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको जानकारी गराउँदै पर्यटक आगमन बढे रोजगारी सिर्जना र वैदेशिक पलायन रोक्न होटल उद्योग प्रभावकारी बन्ने बताएको थियो।
व्यवसायीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत, ५० श्ययासम्मका होटलका लागि वातावरणीय मूल्याङ्कनको व्यवस्था, पोखरा र भैरहवा विमानस्थलको पूर्ण सञ्चालन, नेपाल एयरलाइन्सको सेवा सुधार तथा होटल क्षेत्रसँग सम्बन्धित कानुन संशोधनको माग गरेका छन्।
उनीहरूले नेपाललाई आरोग्य पर्यटन, विवाह गन्तव्य (Wedding Destination) र सीमापार पर्यटनको केन्द्रका रूपमा विकास गर्न सरकारसँग आवश्यक नीतिगत सुधार र सहजीकरण गर्न आग्रह गरेका छन्।