बुटवल।
बुटवलमा नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नेपालगन्ज रोडस्थित एक पसल र अन्य स्थानमा गरिएको खानतलासीका क्रममा एक हजार दरका ६ सय २२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, विशेष कागज, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नोट कटिङ मेसिन र छ थान मोबाइल बरामद गरिएको हो।
पक्राउ पर्नेमा रुपन्देही, पोखरा, कपिलवस्तु, भक्तपुर, दोलखा तथा भारतको पश्चिम बङ्गालका एक नागरिक समेत रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि मुद्रासम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।