माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्रालय सक्रिय, कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

काठमाडौं।

टमाटरको उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलमा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेपछि कृषि, वन तथा पर्यावरण मन्त्रालय सक्रिय भएको छ।

उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानको हित संरक्षण गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका किसानलाई कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो।

छलफलका क्रममा किसानहरूले टमाटरको उचित मूल्य, सहज बजार पहुँच तथा बिचौलियाको प्रभाव न्यूनीकरणका लागि सरकारको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताएका थिए। जवाफमा मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै बजार व्यवस्थापन र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई तत्काल आवश्यक निर्देशन दिनुभएको थियो।

मन्त्रालयको पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा आजै कालीमाटीबाट टमाटर उपत्यका बाहिरका बजारतर्फ ढुवानी सुरु गरिएको छ। उपत्यका बाहिर माग भएका बजारमा टमाटर आपूर्ति गरी किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले ढुवानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले किसानको उत्पादनले उचित बजार र उचित मूल्य पाउने वातावरण निर्माण गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!