काठमाडौँ, असार ३१ गते ।
औषधि व्यवस्था विभागले पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
विभागले असार १३ गते सञ्चालन गरेको पशुपन्छी औषधि व्यवसायीको लिखित परीक्षामा उत्तीर्ण भएका १४४ जना परीक्षार्थीहरूको रोल नम्बर सार्वजनिक गर्दै व्यवसायी मान्यता प्रमाणपत्र वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागद्वारा जारी सूचनाअनुसार उत्तीर्ण भएका परीक्षार्थीले नतिजा प्रकाशित भएको मितिले ४५ दिनभित्र आफ्नो सक्कल नागरिकता तथा शैक्षिक प्रमाणपत्रहरूको नोटरी गरिएको प्रतिलिपि (Notarized Copy) विभागमा पेश गरी व्यवसायी मान्यता प्रमाणपत्र लिनुपर्नेछ।
विभागले झुट्टा विवरण वा नक्कली कागजात पेश गरेको पाइएमा सम्बन्धित परीक्षार्थीको नतिजा जुनसुकै समयमा पनि रद्द गरिने चेतावनी दिएको छ।
सार्वजनिक नतिजाअनुसार विभिन्न रोल नम्बरका परीक्षार्थी लिखित परीक्षामा उत्तीर्ण भएका छन्। विस्तृत नतिजा औषधि व्यवस्था विभागको सूचनामार्फत हेर्न सकिने विभागले जनाएको छ।