बर्डफ्लूको असर घट्दै, बढ्न थाल्यो कुखुराको मासु र अण्डाको खपत

चितवन। बर्डफ्लूका कारण केही समय प्रभावित बनेको कुखुराको मासु र अण्डाको बजार विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। खपत बढ्न थालेसँगै मूल्यमा पनि सुधार देखिएको व्यवसायीहरूले बताएका छन्।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार बर्डफ्लूको प्रभावका बेला दैनिक करिब ८ लाख किलो हुने कुखुराको मासु खपत घटेर ६ लाख किलोमा झरेको थियो। अहिले बजारमा सुधारसँगै खपत पुनः बढ्न थालेको छ।

बर्डफ्लूका कारण ह्याचरी उद्योगहरूले चल्ला बिक्री नभएपछि तीन पटकसम्म ह्याच नष्ट गर्नुपरेको थियो। प्रतिगोटा ९० रुपैयाँमा बिक्री हुने ब्रोइलर चल्ला २५ रुपैयाँसम्म झरेकोमा अहिले ४० रुपैयाँ पुगेको छ। यस्तै, जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २५० रुपैयाँबाट घटेर १४० रुपैयाँ पुगेको थियो भने हाल १९० रुपैयाँसम्म सुधार भएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दैनिक करिब ४५ लाख गोटा अण्डा उत्पादन हुने गरेकोमा बर्डफ्लूका कारण उत्पादन घटेर २८ लाख गोटामा सीमित भएको थियो। एक क्रेट अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४५० रुपैयाँ पुगेकोमा अहिले खपत बढेसँगै मूल्यमा पनि सुधार आउन थालेको छ। उनले प्रभावित व्यवसायीलाई राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठले अण्डा र कुखुराको मासु राम्रोसँग पकाएर सेवन गर्दा कुनै जोखिम नहुने सन्देश सर्वसाधारणसम्म पुगेपछि उपभोक्ताको विश्वास बढ्दै गएको बताए। उनका अनुसार चितवनमा पछिल्लो दुई महिनादेखि बर्डफ्लूको नयाँ संक्रमण देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!