अत्यधिक वर्षाको चेतावनी : दुई दिन उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। साथै हिमाली तथा पहाडी भूभागसहित विभिन्न प्रदेशका तराई क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने जनाइएको छ।

प्राधिकरणले अत्यधिक वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालगायत जिल्लामा विशेष सतर्कता अपनाउन भनिएको छ।

प्राधिकरणले सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन, सडक खुलाउन आवश्यक उपकरण तयारी अवस्थामा राख्न र जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै नदी किनार, पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र मौसम विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक सूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!