काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउन नेपाल औषधि लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।
यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको छ। हाल लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्।
आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। यसका लागि अनुसन्धान, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ।
मन्त्रालयले आवश्यक बजेट सुनिश्चित गर्दै सरकारी स्वास्थ्य संस्थामा स्वदेशी उत्पादनका अत्यावश्यक औषधिलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने जनाएको छ। साथै, समझदारी कार्यान्वयनपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद प्रक्रिया थप सहज, नियमित र संस्थागत हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता वृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्नेछ।