चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शनिबार दुवै शैक्षिक संस्थाको अनुगमन गर्दै मन्त्री पोखरेलले शैक्षिक, अनुसन्धान, प्रशासनिक गतिविधि, पूर्वाधार तथा प्रयोगशालाको अवलोकन गर्नुभएको थियो। त्यसक्रममा उहाँले क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल पनि गर्नुभयो।
छलफलका क्रममा लामो समयदेखि कायम जग्गा विवादका कारण दुवै संस्थाको शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो।
मन्त्री पोखरेलले सरकारले समन्वयात्मक तथा कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्ने बताउँदै रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको शैक्षिक हित सुरक्षित हुने गरी समाधान खोजिने स्पष्ट पार्नुभयो।
उहाँले यी संस्थाहरू नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका महत्वपूर्ण आधार भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल गर्ने बताउनुभयो।
सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।
अनुगमनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल तथा शिक्षामन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतमको सहभागिता रहेको थियो।