सुनसरीको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ, उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिनुभएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिनुभएको हो।

ब्रिफिङमा गृहमन्त्री सुधन गुरुङको पनि उपस्थिति रहेको थियो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको बताइएको छ।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालयअन्तर्गतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!