काठमाडौं – सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको गहन छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।
वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह, कानुन तथा उद्योग मन्त्रालयका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो। सहमतिपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको थियो। संघको आह्वानमा मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए।
सरकार र चिकित्सक संघबीच भएको पाँच बुँदे सहमतिसँगै अस्पतालहरूको नियमित सेवा पुनः सञ्चालन हुने विश्वास गरिएको छ।

