सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्गदेखि इनरुवा बजारसम्म आवागमन र सार्वजनिक गतिविधिमा रोक

इनरुवा। सुनसरीमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फेरि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सुरु भएको तनाव मंगलबार महेन्द्र राजमार्गका विभिन्न क्षेत्रमा फैलिन थालेपछि प्रशासनले कडा सुरक्षा व्यवस्था लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको छ।

कर्फ्यु आदेशअनुसार पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्मको महेन्द्र राजमार्ग तथा राजमार्गको उत्तर–दक्षिणतर्फ २००–२०० मिटर क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै इनरुवा बजार क्षेत्रभित्र पनि सबै प्रकारका सार्वजनिक गतिविधि रोकिएको प्रशासनले जनाएको छ।

मंगलबार घण्टावाडीदेखि झुम्कासम्म महेन्द्र राजमार्ग क्षेत्रमा प्रदर्शन, तोडफोड तथा तनावपूर्ण गतिविधि बढ्न थालेपछि प्रशासनले कर्फ्युको दायरा विस्तार गरेको हो। जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सुरक्षा परिचालनसमेत थप सुदृढ बनाइएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालले पछिल्लो तनावबाट कुनै पनि समुदाय वा पक्षलाई लाभ नहुने भन्दै सबैलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गर्दै शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिएको प्रशासनले जनाएको छ।

देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन, आगजनी, तोडफोड तथा तनावका घटना दोहोरिन थालेका छन्। सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले चरणबद्ध रूपमा सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ। पछिल्लो कर्फ्यु आदेशसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र, महेन्द्र राजमार्ग र यातायात सेवा प्रभावित भएका छन् भने जनजीवनसमेत उल्लेख्य रूपमा प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!