हेटौँडा, भदौ १ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुभएको हो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री बानियाँको राजीनामा संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम भदौ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो। राजीनामा स्वीकृत भएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले तोकिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ।
मुख्यमन्त्री बानियाँले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि सोमबार प्रदेशसभा बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो। प्रदेशको राजनीतिक स्थायित्वका लागि नयाँ सरकार गठनको बाटो खोल्न आफूले राजीनामा दिएको उहाँले बताउनुभएको थियो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी बानियाँको पक्षमा ३८ सांसदको मात्र समर्थन रहेको थियो। आवश्यक बहुमत जुटाउन नसकेपछि उहाँले विश्वासको मत लिने प्रक्रिया अघि नबढाई राजीनामा दिनुभएको हो।
अब तोकिएको समयभित्र बहुमत जुटाउन सक्ने दल वा गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।