साउन महिना मै ४ पटक बढेको अण्डाको मूल्य भाद्र पहिलो हप्तामै फेरि बढ्योः पुग्यो एक्सएल अण्डा प्रतिक्रेट ५९० रुपैयाँ

काठमाडौं, भदौ ३ गते, रत्न काजि प्रजापति।

अण्डाको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले देशभरका अण्डा उत्पादक भोलि देखि लागू हुने गरी नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यअनुसार एक्सएल अण्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मिडियम अण्डा ५३५ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरिएको छ। उपभोक्ता मूल्य भने प्रति गोटा २५ रुपैयाँ नै कायम गरिएको छ।

पछिल्लो समय अण्डाको मूल्यमा निरन्तर वृद्धि हुँदै आएको छ। यसअघि साउन ३० गतेदेखि लागू हुने गरी संघले एक्सएल अण्डा प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो ५६० रुपैयाँ र मिडियम अण्डा ५२० रुपैयाँ निर्धारण गरेको थियो। त्यसको लगतै हप्ता दिन नपुग्दै पुनः मूल्य बढाउँदै नयाँ दर कायम गरिएको हो।

अण्डाको मूल्यमा छोटो अवधिमै पटक–पटक वृद्धि हुनुमा उत्पादनमा आएको कमी, बजारको माग तथा आपूर्तिबीचको असन्तुलन र पोल्ट्री क्षेत्रमा देखिएका विभिन्न रोगको प्रभाव प्रमुख कारण रहेको व्यवसायीहरू बताउँछन्। बर्डफ्लुको प्रभावपछि ठूलो संख्यामा लेयर्स कुखुरा नष्ट हुँदा अण्डा उत्पादनमा कमी आएको र त्यसको असर बजारमा परेको उनीहरूको भनाइ छ।

संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा रहेको छ। यस आधारमा प्रतिक्रेट अण्डाको उत्पादन लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्छ।

नयाँ समर्थन मूल्यले एक्सएल अण्डामा किसानलाई उत्पादन लागत नजिकको मूल्य प्राप्त हुने अवस्था देखिए पनि दाना, औषधि, श्रम, विद्युत् तथा अन्य सञ्चालन खर्च बढिरहेका कारण किसानको वास्तविक नाफा अझै चुनौतीपूर्ण रहेको व्यवसायीहरूको भनाइ छ। यद्यपि पछिल्लो मूल्य वृद्धिले लामो समयदेखि उत्पादन लागतको दबाब खेपिरहेका किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। अण्डाको मूल्यमा लगातार भइरहेको उतारचढावले किसानसँगै व्यवसायी र उपभोक्ता तीनै पक्ष प्रभावित हुँदै आएका छन्।

नेपाल लेयर्स कुखुरापालक संघले किसानको उत्पादन लागत, बजारको माग तथा आपूर्तिको अवस्थालाई आधार बनाएर फार्म समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ। संघले तोकेको नयाँ मूल्य भदौ ४ गतेदेखि लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!