बिस्का जात्रा २०७९ बारे सदभाब र्य़ाली तथा सदभाब सभा सम्पन्न

भक्तपुर, चैत्र २६, २०७९ः
कृष्ण किसि

भक्तपुर नगरपालिकाको आयोजनामा चैत्र २७ गते बाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन भक्तपुरको टौमढीमा आज सद्भाव सभाको आयोजना गरेको छ ।
सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव माननीय प्रेम सुवालले जात्रा, पर्व, कला र संस्कृति भनेका मानव समाजको विकास सिलसिला हो र हाम्रा पुर्खाले सुरु गरेको योत्रा विकृतिरहित ढंगले शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
उहाँले देश विदेशमा भएका नेपाली तथा विदेशीहरुले समेत फेसबुक लाइभ तथा अन्य सञ्चारमाध्यमबाट जात्रा अवलोकन गरिने हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित गर्नेतर्फ स्थानीय तह तथा जात्रासँग सम्बन्धित सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालको अर्थतन्त्र ओरालो लाग्ने क्रममा रहेको समयमा जात्रा र पर्वहरु मनाउँदा धेरै खर्चिलो र भड्किलो नबनाई मितव्ययिता अपनाउनुपर्ने भन्दै उहाँले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा मनाउन सबैमा अपिल गर्नुभयो ।
उहाँले जात्रालाई भव्य र सभ्य बनाउन भक्तपुर नपाले सरोकारवाला पक्षसँग नियमित रुपमा बैठक बसी जात्राबारे आवश्यक निर्णयहरु गरेको अवगत गराउँदै उहाँले सबैको साथ र सहकार्यबाट जात्रा सफलतापूर्वक सम्पन्न हुने हो भन्नुभयो ।
भक्तपुरको कला संस्कृति, जात्रा पर्व आदिबारे नयाँ पुस्तालाई थाहा दिन भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरुमा यसको अध्ययन अध्ययनमा जोड दिँदै आएको बताउँदै उहाँले कोभिड महामारीबीच पनि बिस्का जात्रालाई औपचारिकतामा सीमित गरिएको स्मरण गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बिस्का जात्रा भक्तपुरबासीको मात्र नभई सारा नेपालीहरुको जात्रा भएको र देशविदेशमा यो जात्रा हेरिने हुँदा जात्रा सभ्य र भव्य रुपमा मनाउन अपिल गर्नुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बिस्का जात्रा सफलतापूर्वक सञ्चालनको लागि सबैको सक्रियतामा विभिन्न बैठक र कार्यक्रमहरु सञ्चालन गर्नुका साथै बिस्का जात्रा भक्तपुरबासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राको रुपमा रहेको हुँदा यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो । जात्रामा हुने अवाञ्चित र उत्छृङ्खल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी भई आवश्यक कारबाही समेत हुने उहाँले सभामा बताउनुभयो ।
त्यस्तै गुठी संस्थान भक्तपुरका प्रमुख खीमा ओलीले जात्रा सफलताको शुभकामना दिँदै नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा सफलतापूर्वक सम्पन्न गर्न गुठी संस्थानले कार्यतालिका बनाई जिम्मेवार पक्षलाई सुसूचित गरिसकेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण ढंग मनाउन भक्तपुरले प्रकाशन गरेको अपिल सभामा वाचन गर्नुभएको थियो ।
सद्भाव सभा सुरु हुनु अगाडि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दत्तात्रयबाट र भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको नेतृत्वबाट इनागबाट ¥याली सुरु भई टौमढीमा पुगी सभामा परिणत भएको थियो । सद्भाव ¥याली तथा सभामा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, टीम, क्लब, सहकारी संस्था, विद्यालय, कलेज र स्काउट, सांस्कृतिक समूह एवम् स्थानीय जनसमुदायहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!