भक्तपुरमा बिस्का जात्रा अबधि भर मदिरा बिक्रिमा कडाई

निर्देशनको अवज्ञा भएको खण्डमा प्रचलित कानुन बमोजिम कारवाही गरिने

भक्तपुर, चैत्र २७, २०७९ः
कृष्ण किसि

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्का जात्रा अवधीभर भक्तपुरमा खुल्ला र बोटलका मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिकरुपमा विशिष्ट पहिचान बोकेको बिस्काः जात्रालाई शान्तिपूर्ण, अनुशासित, व्यवस्थित, सभ्य र भव्य रुपमा सम्पन्न प्रशासनले मदिरा बिक्रि वितरणमा कडाई गरेको हो ।
प्रशासनले जात्रासँग सम्बन्धीत सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल गरी सोही आधारमा सार्वजनिक सूचना जारी गर्दै मदिरा बिक्रि वितरणमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।
त्यस्तै प्रशासनले जात्राका क्रममा परम्परागत रुपमा रथमा चढ्न अधिकार प्राप्त र परम्परा बमोजिम पहिरन लगाएका व्यक्ति÷पदाधिकारी मात्र रथारोहण गर्ने व्यवस्था मिलाउने, जात्राको समयमा ढुंगामुढा, हुलहुज्जत, होहल्ला गर्ने जस्ता उत्श्रृंखल व्यवहार प्रदर्शन नगर्ने निर्देशन जारी गरेको छ ।
प्रशासनले उल्लेखित निर्देशनको अवज्ञा भएको खण्डमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रजिअ रिजालले बताउनुभयो । भक्तपुरमा यही चैत्र २७ गतेदेखी बैशाख ५ गतेसम्म बिस्काः जात्रा सञ्चालन हुन्छ ।

त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने बिस्का जात्रा तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन नगर्न आग्रह गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!