काठमाडौं, २७ चैत्र २०७९ः
नेपाली संगीतप्रेमीमाझ चर्चित कुटुम्ब ब्यान्डले नयाँ वर्ष २०८० का अवसरमा कन्सर्ट गर्ने भएको छ । यो ब्यान्डले वैशाख १ गते काठमाडौंको टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ ।
योगा, ध्यान र उत्सव गरी ओसो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले ओसो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको हो । कुटुम्बले नयाँ वर्षको स्वागत गर्दै नयाँ कोसेलीसहित दर्जन बढी गीतहरू प्रस्तुत गर्ने छन् । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै १ वैशाखमा ५० हजारभन्दा बढीको दर्शकबीच टुँडिखेलमा एकसाथ कुटुम्ब प्रस्तुत हुँदै छ । यो संगीत महोत्सवलाई भव्य सफल पार्ने कुटुम्बले जनाएको छ ।
सोही कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ कोसेली सार्वजनिक गर्ने कार्यक्रम समेत समावेश गरेको हो । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सन्स्क्रितिका व्यक्तिहरूलाई सुहाउने विविध प्रकारका कार्यक्रम रहने महोत्सव संयोजक भवन भट्ट स्वामीले बताए ।
महोत्सव निःशुल्क अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने ओसो तपोवनका कार्यक्रम संयोजक सोबिता सिंखडा माले बताइन् ।
‘एक दिने ओसो महोत्सव ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ,’ ओसो तपोवनका प्रवक्ता निराजन भण्डारीले भने ।