काभ्रे/रत्न काजि प्रजापति । काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ तथा नियमावली, २०५७ कार्यान्वयन गर्ने तयारी अघि बढाइएको छ। तयारीअनुसार जिल्लाका ६ वटा नगरपालिकामा २०८३ माघ १ गतेदेखि र ७ वटा गाउँपालिकामा २०८४ साउन १ गतेदेखि ऐन कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।

ऐन कार्यान्वयनको तयारीस्वरूप पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा ऐन कार्यान्वयनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ऐनका प्रावधान, कार्यान्वयनको आवश्यकता, स्थानीय तहको भूमिका तथा स्वच्छ र गुणस्तरीय मासु उत्पादन तथा बिक्री–वितरणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. मनोजकुमार शाहीले पशु बधशाला तथा मासु जाँच ऐन र नियमावलीका प्रावधान तथा यसको प्रभावकारी कार्यान्वयनका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनले बधपूर्व तथा बधपश्चात् पशुको स्वास्थ्य परीक्षण, मासु निरीक्षण, बधस्थलको व्यवस्थापन र उपभोक्ताको स्वास्थ्य सुरक्षाका विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा प्रतिनिधि सभा काभ्रे–२ का सदस्य बदनकुमार भण्डारी, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो।
त्यस्तै जिल्लाका स्थानीय तहका प्रतिनिधि, मासु व्यवसायी, जनस्वास्थ्य कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा ऐन कार्यान्वयनका क्रममा स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, पशु स्वास्थ्य तथा मासु व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
ऐन कार्यान्वयनसँगै पशु बध गर्ने स्थानको व्यवस्थापन, बधपूर्व तथा बधपश्चात् स्वास्थ्य परीक्षण, मासु निरीक्षण र व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड पालना गराउने तयारी गरिएको छ। यसबाट अस्वस्थ तथा गुणस्तरहीन मासुको बिक्री–वितरण नियन्त्रण गर्दै उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने लक्ष्य राखिएको छ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. ब्रजकिशोर ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चरणबद्ध रूपमा ऐन कार्यान्वयन गर्दै जिल्लाको मासु व्यवसायलाई व्यवस्थित र स्वास्थ्य मापदण्डअनुकूल बनाउने विषयमा छलफल भएको थियो।