काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) र नेपाली सेनाबीच भएको सम्झौताअनुसार नेपाली सेनाका ३२ जिल्लास्थित विभिन्न निकायमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुने भएको छ।
सम्झौताअनुसार दूधसँगै दैनिक ३६५ किलो दही, ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिजसमेत सेनाका विभिन्न युनिटमा आपूर्ति गरिनेछ।
यो आपूर्ति आगामी माघ महिनाबाट सुरु हुने जनाइएको छ। सम्झौताले सेनाका विभिन्न निकायमा गुणस्तरीय दुग्धजन्य पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नुका साथै स्वदेशी दूध तथा दुग्धजन्य उत्पादनको खपत बढाउने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जित र डिडिसीका महाप्रबन्धक शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
डिडिसीका अनुसार ठूलो परिमाणमा संस्थागत रूपमा दूध तथा दुग्धजन्य पदार्थको खपत बढ्दा दूध उत्पादक किसानलाई समेत बजार सुनिश्चित गर्न सहयोग पुग्नेछ। सेनासँगको सम्झौताले स्वदेशी दुग्ध उत्पादनको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।