भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैं रमाइलो महोत्सव–२०८३’

भक्तपुर । नेपालीहरूको महान् पर्व बडादसैंको अवसरमा भक्तपुरको सल्लाघारीमा ‘दशैं रमाइलो महोत्सव–२०८३’ आयोजना हुने भएको छ। औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा असोज २१ गतेदेखि ३० गतेसम्म भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी खुला चौरमा महोत्सव सञ्चालन हुने भएको हो।

महोत्सवमा स्थानीय उत्पादन तथा व्यापार प्रवर्द्धनसँगै उपभोक्तालाई विभिन्न दैनिक उपभोग्य सामग्रीमा विशेष छुट उपलब्ध गराउने आयोजकले जनाएको छ। महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन् भने स्थानीय व्यापारीलाई स्टलको आकारअनुसार न्यून शुल्कमा स्टल उपलब्ध गराइने बताइएको छ।

महोत्सवमा लत्ताकपडा, खाद्यान्न, जुत्ता, अटोमोबाइल, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारलगायत दैनिक जीवनमा प्रयोग हुने विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ।

मनोरञ्जनतर्फ बाल उद्यान, रोटेपिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, वाटर बल, मिकी माउस, ट्र्याम्पोलिनलगायतका खेल तथा मनोरञ्जनका साधन राखिने आयोजकले जनाएको छ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारको गीत–संगीत, हास्यव्यङ्ग्य प्रस्तुति र खुला नृत्य प्रतियोगिता समेत सञ्चालन हुनेछ।

हरेक शनिबार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने के.डी. श्री डान्स कल्चर एकेडेमी प्रा.लि., भक्तपुरको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सव प्रवेशका लागि विद्यार्थीलाई रु. ७० र सर्वसाधारणलाई रु. १०० शुल्क निर्धारण गरिएको छ। वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार दसैंको अवसरमा मनोरञ्जनसँगै स्थानीय व्यापार तथा उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। दशैं रमाइलो महोत्सव–२०८३ का संयोजक संगम लामाले महोत्सवसम्बन्धी समाचार सम्प्रेषण गरी आम नागरिकलाई जानकारी गराइदिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!