राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सूर्यविनायकको सम्मान

सुर्यबिनायक, भक्तपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर सूर्यविनायक नगरपालिकाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित भएका छन्।

सूर्यविनायक नगरपालिकाको खेलकुद विकास शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन्।

कराँते, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुटबल, साभाते, रग्बी, भारोत्तोलन, भलिबल, शारीरिक सुगठन, कबड्डी र हक्कीसहितका खेलका पदक विजेता खेलाडी सम्मानित भए।

कराँतेतर्फ साफ च्याम्पियनसिपका स्वर्ण पदक विजेता रामशरण त्वात तथा अन्तर्राष्ट्रिय पदक विजेता सन्ध्या नगरकोटी, समीक्षा नगरकोटी र सञ्जु नगरकोटी सम्मानित भए। उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामालाई सम्मान गरिएको छ। तेक्वान्दो तथा आईटीएफ तेक्वान्दोतर्फ वैभवी सापकोटा र प्रभुराम केसी सम्मानित हुँदा शेरबहादुर थापा मगरलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

फुटबलतर्फ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता गंगाराम देउजा तथा ग्रासरुटतर्फ ६–१० वर्ष उमेर समूहका उत्कृष्ट खेलाडी शिवम् केसी र ११–१६ वर्ष समूहका पुजन हिङ्ङजु सम्मानित भए। साभातेका अन्तर्राष्ट्रिय पदक विजेता बसिल त्वायना, एकिन कासुला, आरती सिलवाल र प्रभुराम केसीलाई पनि सम्मान गरिएको छ।

त्यस्तै, रग्बीतर्फ निरोज कार्की र विवस बासु, भारोत्तोलनतर्फ साफ गेम्सका पदक विजेता लक्ष्मी बन, भलिबलतर्फ रुपककुमार विष्ट, शारीरिक सुगठनतर्फ सनम मुलगुठी, कबड्डीतर्फ रुपक भुजु र हक्कीतर्फ राम ढुङ्गानालाई सम्मान गरिएको छ। खेलकुद क्षेत्रमा उत्कृष्ट विद्यालयका रूपमा अरनिको माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ।

नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले खेलाडीको मनोबल बढाउँदै नगरभित्र खेलकुदको विकास र प्रतिभाको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले खेलकुदलाई प्राथमिकता दिँदै प्रतिभावान खेलाडीलाई आगामी दिनमा पनि निरन्तर प्रोत्साहन र अवसर उपलब्ध गराइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!