कांग्रेस महाधिवेशन : मतदान शुक्रबार मात्रै, किन सर्‍यो कार्यतालिका ?

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरु हुने भएको छ।

खराब मौसम र प्राविधिक कारण देखाउँदै मतदानको कार्यतालिका सारिएको हो। बिहीबार (आज) ढिला मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो।

उहाँले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताउनुभयो। महाधिवेशन प्रतिनिधिको सङ्ख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्यसचिव कटुवालले जानकारी दिनुभयो।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई असहज हुने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि मात्रै मतदान सुरु गरिने बताउनुभयो।

उहाँले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताउनुभयो।

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाइ खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताउनुभयो।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

निर्वाचन समितिका अनुसार राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेश, खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश र पहाड हलमा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोन लगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकिएको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।

उम्मेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटीका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघाइनेछ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!