चितवन। अण्डाको पोषण र स्वास्थ्यमा यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्व अण्डा दिवसका अवसरमा आज भरतपुरमा सचेतना र्यालीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन आज ‘एग वाक’ (सचेतना र्याली) सम्पन्न भएको छ यस वर्ष विश्व अण्डा दिवस ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ भन्ने नाराका साथ मनाइएको छ।
दिवसका अवसरमा आज भरतपुरस्थित चितवन उद्योग सङ्घको परिसरबाट सुरु भएको ‘एग वाक’ वीरेन्द्र क्याम्पसचोक र चौबीसकोठी हुँदै पुनः उद्योग सङ्घकै परिसरमा पुगेर समापन भएको थियो। अण्डाको महत्त्व दर्शाउने सन्देशमूलक र्यालीमा जुम्बा र डिजे डान्सजस्ता रोचक गतिविधिहरू समावेश गरिएकाले कार्यक्रमको रौनकता निकै फरक र उत्साहजनक देखिएको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशभरका विद्यालयहरूमा विद्यार्थी तथा अभिभावकलाई अण्डाको पोषण र सन्तुलित आहारबारे सचेतना जगाइएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोख्रेलले जानकारी दिए। अण्डाको उत्पादन र उपभोग बढाउनुका साथै किसानलाई लागतअनुसारको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले सङ्घले यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताए।
कार्यक्रमकै क्रममा अण्डाको उत्पादन, पोषण, स्वास्थ्य, बजार तथा उपभोगका विषयमा सरोकारवालाहरूबीच प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो। छलफलका क्रममा फिजिसियन डा. भोजराज अधिकारीले एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनका साथै शरीरलाई आवश्यक विभिन्न भिटामिन तथा खनिज तत्त्व पाइने बताए। अण्डामा पाइने प्रोटिनले मांसपेशीको निर्माण, मर्मत र बालबालिकाको समग्र वृद्धि–विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउने उनको भनाइ थियो।
