विश्व अण्डा दिवसको अबसरमा पोषण सुरक्षा र जनचेतनामा अण्डाको भूमिकाबारे विशेष टक सेसन हुँदै

भरतपुर । विश्व अण्डा दिवसको अवसरमा अण्डाको पोषण महत्व, खाद्य तथा पोषण सुरक्षा र जनचेतना अभिवृद्धिमा यसको भूमिकाबारे केन्द्रित विशेष टक सेसन आज भरतपुरमा आयोजना हुने भएको छ। भरतपुर गार्डेन रिसोर्टमा आयोजना हुने कार्यक्रममा अण्डाको पोषणसम्बन्धी वैज्ञानिक तथ्य, नीतिगत व्यवस्था र जनचेतना विस्तारका विषयमा छलफल हुनेछ।
‘The Role of Eggs in Nutritional Security: Evidence, Policy and Public Awareness’ शीर्षकमा आयोजना हुने टक सेसनमा डा. अशेष भट्टराईले मोडरेटरको भूमिका निर्वाह गर्नेछन्। कार्यक्रममा डा. दिनेश गौतमले अण्डाको महत्व, पोषणमा यसको योगदान र मानव स्वास्थ्यमा यसको भूमिकाबारे विशेष प्रस्तुति दिनेछन्।
कार्यक्रममा पोषणविद् तथा परामर्शदाता डा. दिनेश गौतम, वरिष्ठ प्रमुख चिकित्सक तथा परामर्शदाता इन्डोक्राइनोलोजिस्ट डा भोजराज अधिकारी, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल कुखुरा पालक संघकाअध्यक्ष बिनोद पोखरेल र द हिमालयन टाइम्सका सम्पादक राजन पोखरेल प्यानलिस्टका रूपमा सहभागी हुनेछन्। छलफलमा अण्डाको पोषण महत्व, सन्तुलित आहारमा यसको आवश्यकता, अण्डाको नियमित उपभोगका फाइदा तथा अण्डासम्बन्धी जनमानसमा रहेका भ्रम र वास्तविकताबारे विचार आदानप्रदान हुनेछ।
अण्डा उच्च गुणस्तरको प्रोटिनका साथै शरीरलाई आवश्यक विभिन्न भिटामिन तथा खनिजको महत्वपूर्ण स्रोत हो। बालबालिकाको शारीरिक तथा मानसिक विकास, किशोरकिशोरीको पोषण आवश्यकता र समग्र मानव स्वास्थ्यमा अण्डाले महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। त्यसैले दैनिक आहारमा अण्डाको समुचित प्रयोग बढाउन जनचेतना अभिवृद्धि आवश्यक रहेको छ।
नेपालको कुखुरापालन तथा अण्डा उत्पादन क्षेत्रले रोजगारी सिर्जना, किसानको आयआर्जन र देशको पोषण सुरक्षामा योगदान दिँदै आएको छ। तर अण्डाको पोषण महत्वबारे पर्याप्त जानकारीको अभाव, उपभोगसम्बन्धी भ्रम तथा उत्पादन र बजार व्यवस्थापनका चुनौतीलाई सम्बोधन गर्न आवश्यक छ।
कार्यक्रमले अण्डाको पोषणसम्बन्धी वैज्ञानिक तथ्य आम नागरिकसम्म पुर्‍याउनुका साथै पोषण सुरक्षा प्रवर्द्धनका लागि विज्ञ, सरकारी निकाय, सञ्चारमाध्यम र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता उजागर गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!