दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोली (Senior Management Team–SMT) को बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले किसानले दसैँअघि नै अनुदान रकम पाउने सुनिश्चित गर्न निर्देशन दिनुभएको हो।

उखु उत्पादक किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उपलब्ध गराइने अनुदान वितरणका लागि आर्थिक वर्ष २०८३/८४ को कार्यविधि स्वीकृत भइसकेको छ। उक्त आर्थिक वर्षका लागि सरकारले उखु उत्पादन अनुदानबापत १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम निकासा गरेको विवरण प्राप्त भएको छ।

किसानले समयमै अनुदान रकम पाउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा कुनै ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। चाडपर्वको समयमा किसानलाई आर्थिक राहत पुग्ने गरी अनुदान वितरण प्रक्रिया प्रभावकारी बनाउन उहाँले जोड दिनुभएको हो।

सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्ने तथा किसानलाई उत्पादन लागतमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!