काठमाडौं । लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले ५८.९ मेगावाटको नार खोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाटको सानी भेरी–३ परियोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो।
बैठकले ९०० मेगावाटको अरुण–३ परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने तथा माथिल्लो कर्णाली परियोजनाको निर्माण तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ।
त्यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने, बोर्डबाट आह्वान नगरिएका प्रस्तावलाई स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराउने कानुनी व्यवस्था मिलाउने र एआईलगायत नवीनतम प्रविधिमा आधारित पूर्वाधार परियोजनालाई नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदानका आधारमा प्राथमिकता दिने निर्णयसमेत गरेको छ।