चितवन/ रत्न काजि प्रजापति। नेपालमा अण्डाको उत्पादन र खपत बढाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार चितवनमा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरूले अण्डाको पोषण महत्वबारे जनचेतना अभिवृद्धि गर्दै उत्पादन वृद्धि र बजार सुनिश्चिततामा जोड दिएका हुन्।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग गरेमा किसानहरूले अण्डा उत्पादन बढाउन सक्ने बताउनुभयो। उहाँले विद्यालयको दिवा खाजामा सातै दिन अण्डा समावेश गर्ने व्यवस्था सरकारले गरेमा किसानका तर्फबाट प्रतिअण्डा पाँच रुपैयाँ छुट दिन तयार रहेको जानकारी दिनुभयो। भारतबाट भन्सार छलेर आउने अण्डाको आयात गत वैशाखदेखि रोकिएपछि किसानले राहत महसुस गरेको उहाँको भनाइ थियो।
अध्यक्ष पोखरेलका अनुसार हाल नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुँदै आएको छ। कोभिड–१९ महामारीअघिको अवस्थालाई फर्काउँदै दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्यसहित किसानहरूलाई संगठित गरेर काम भइरहेको छ। चार वर्षअघि करिब १२० रहेका ठूला लेयर्स कुखुरापालक किसानको संख्या अहिले १८० पुगेको उहाँले बताउनुभयो। व्यवसायीका अनुसार प्रतिअण्डा उत्पादन लागत १९ रुपैयाँ १२ पैसा रहेको छ भने बजारमा ३० वटा अण्डाको एक क्यारेटको मूल्य करिब ६०० रुपैयाँ पुगेको छ।

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत
कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले प्रस्तुत गरेको तथ्यांकअनुसार नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ वटा अण्डा खपत हुने गरेको छ। विश्वको औसत खपत १८५ र एसियाको १८७ वटा रहेको उहाँले जानकारी दिनुभयो। दक्षिण एसियामा प्रतिव्यक्ति वार्षिक औसत खपत ८७ वटा रहेको छ।
तथ्यांकअनुसार भारतमा प्रतिव्यक्ति वार्षिक ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७ र पाकिस्तानमा ४८ वटा अण्डा खपत हुने गरेको छ। सन् २०१५ मा नेपालमा प्रतिव्यक्ति वार्षिक खपत ६० वटा रहेकोमा अहिले बढेर ६९ पुगेको डा. गौतमले बताउनुभयो। खपत बढे पनि अन्तर्राष्ट्रिय औसतको तुलनामा नेपालमा अण्डा उपभोग अझै न्यून रहेकाले उत्पादनसँगै खपत बढाउने नीति आवश्यक रहेको उहाँको भनाइ थियो।
कृषि नीतिमार्फत किसानलाई प्रोत्साहन गरिने
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डाको उत्पादन बढाउनु मात्रै पर्याप्त नहुने भन्दै यसको खपत बढाउन पनि सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो। किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन जारी गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर र किसान तथा परिवारलाई यातायातमा छुटजस्ता व्यवस्था प्रस्तावित गरिएको उल्लेख गर्नुभयो। कृषि पेसालाई सम्मानित र आकर्षक बनाउनु आवश्यक रहेको उहाँको भनाइ थियो।
अण्डा उच्च गुणस्तरको प्रोटिनको स्रोत
वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत भएको बताउनुभयो। एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनका साथै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंकजस्ता पोषक तत्त्व पाइने उहाँले जानकारी दिनुभयो।
अण्डाको पहेँलो भागसमेत खान मिल्ने उल्लेख गर्दै उहाँले बालबालिकाको उमेर र पोषण आवश्यकताअनुसार अण्डा खुवाउन सकिने बताउनुभयो। अण्डाको पोषण महत्वबारे समाजमा रहेका भ्रम हटाउँदै यसको नियमित उपभोगबारे सही जानकारी प्रवाह गर्न आवश्यक रहेको उहाँले जोड दिनुभयो।
युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले नेपालको अण्डा उत्पादन तथा बजारीकरणमा आफ्नो संस्थाले सहयोग गर्दै आएको बताउनुभयो। निजी क्षेत्र र सरकारबीचको साझेदारीबाट मात्रै उत्पादन तथा खपत वृद्धि गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले विद्यालयको पाठ्यक्रममा अण्डाको पोषण महत्व समावेश गर्नुपर्ने, दिवा खाजामा अण्डाको प्रयोग बढाउनुपर्ने, किसानले उत्पादन लागतअनुसार मूल्य पाउने वातावरण बनाउनुपर्ने र अण्डाको गुण तथा फाइदाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।