मुख्यमन्त्री थापामगरसहित विभिन्न व्यक्तित्व सम्मानित, दुई पत्रकारलाई नगदसहित पुरस्कार

भक्तपुर । क्रियाशील पत्रकार मञ्च भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

मञ्चले आयोजना गरेको १६औँ वार्षिक साधारणसभा, छैटौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले मुख्यमन्त्री थापामगरलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा स्थानीय तहको विकासमा योगदान पुर्‍याएको भन्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा तथा भक्तपुर अस्पतालको विकास र बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि योगदान गरेको भन्दै प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भई ज्यान गुमाउनुभएका अग्रज पत्रकार तथा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नगद पाँच हजार रुपैयाँसहितको उक्त पुरस्कार उहाँकी पत्नी तथा पत्रकार कालिका खड्काले ग्रहण गर्नुभयो। त्यसैगरी, कान्तिपुर टेलिभिजनमा कार्यरत तथा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई स्व. लक्ष्मीमाया कासिछ्वा क्रियाशील पत्रकारिता पुरस्कारबाट नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ।

कार्यक्रममा मुख्यमन्त्री थापामगरले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई घटनास्थलमै पुगेर वास्तविकता बुझेर समाचार लेख्नुपर्ने बताउनुभयो। देशको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्ने दायित्व पूरा गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।

मुख्यमन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाइएको जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि प्रदेश सरकारले ठेक्का प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो। साथै, बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको उहाँको भनाइ थियो।

प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभयो। तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्दै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो। भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रयासरत रहेको भन्दै उहाँले सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

बागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारले पत्रकारका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो। उक्त सुविधा लिन नेपाल पत्रकार महासंघको सिफारिस आवश्यक पर्ने उहाँले बताउनुभयो।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारहरूले समाचार संकलन तथा सम्प्रेषण गर्दा दलीय स्वार्थभन्दा माथि उठेर निष्पक्षता कायम गर्नुपर्ने बताउनुभयो। नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पछिल्लो १० वर्षमा सूर्यविनायकको विकासमा उल्लेखनीय परिवर्तन आएको दाबी गर्नुभयो।

कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पुष्करराज बुढाथोकी र सचिव अञ्जना शिल्पकारले पत्रकारको व्यावसायिक विकास, पहिचान र अधिकारका लागि मञ्च निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!