सूर्यविनायकमा अन्तरवडास्तरीय फुटबल प्रतियोगिता सुरु, यसै वर्ष रंगशाला निर्माण गरिने

भक्तपुर, २५ असोज । सूर्यविनायक नगरपालिकाको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशिको अन्तरवडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको नगरप्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार र तृतीय हुने टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, चौथो हुने टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थापाले भौतिक विकाससँगै मानवीय विकास, रोजगारी सिर्जना र खेलकुद क्षेत्रलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले यस वर्ष खेलकुद क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरप्रमुख थापाले तिहारपछि सूर्यविनायक नगरपालिका–नंखेलमा ५० रोपनी जग्गामा फुटबल रंगशाला निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिँदै त्यसका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । साथै, यसै वर्ष नगरपालिकाका प्रत्येक वडामा एक खेलमैदान निर्माण गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाले हरेक महिना खेलकुद प्रतियोगिता सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको नगरप्रमुख थापाको भनाइ थियो । खेल र खेलाडीको विकासका लागि तीनै तहका सरकारले लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले खेलकुद विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै यस्ता प्रतियोगिताले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले प्रतियोगिताले खेलाडीको क्षमता पहिचान र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले विभिन्न खेलकुद गतिविधिलाई रचनात्मक रूपमा अघि बढाउँदै खेलाडीलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास, प्रतिभा पहिचान र खेलकुदमार्फत नगरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।

नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, विभिन्न वडाका वडाध्यक्ष, नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत खेलकुदप्रेमीको उपस्थिति थियो । कार्यक्रममा शर्मिला बस्नेत लक्सालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. २ र वडा नं. ८ बीच प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!