बागमती प्रदेशलाई योग र स्वस्थ जीवनशैलीको नमुना बनाइनेः प्रादेशिक योग परिषद् गठन गर्ने घोषणा

भक्तपुर/रत्न काजि प्रजापति । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना बनाउने घोषणा गर्नुभएको छ । प्रदेशका नागरिकसम्म योग र स्वस्थ जीवनशैलीको पहुँच विस्तार गर्न ‘प्रादेशिक योग परिषद्’ गठन गर्ने उहाँले बताउनुभएको हो ।

पातञ्जल योग समिति नेपालको आयोजना तथा शुभकामना सामूहिक योग साधना केन्द्रको व्यवस्थापनमा आज भक्तपुरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले योगलाई नागरिकको दैनिक जीवनशैलीसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा विकास गर्दै बागमती प्रदेशका १३ जिल्लामध्ये नमुना जिल्लाका रूपमा स्थापित गर्ने आधार तयार भइरहेको बताउनुभयो । योगको प्रवर्द्धनले नागरिकको स्वास्थ्य सुधारसँगै सामाजिक र आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पातञ्जल योग समिति नेपालका महासचिव डा. नवराज काफ्लेले प्रादेशिक योग परिषद् गठनका लागि आवश्यक प्राविधिक तथा नीतिगत गृहकार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

उहाँले योगलाई व्यवस्थित रूपमा विस्तार गर्न नीतिगत संरचना निर्माण र संस्थागत पहल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल तथा कार्यक्रमका सभापति एवं पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योग साधनाको प्रचारप्रसार विस्तार गर्न तथा योग साधकहरूको क्षमता र सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा योगको प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास र योग साधनालाई जनस्तरसम्म पुर्‍याउने विषयमा चर्चा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!