विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै, सङ्घीयता र प्रदेश अधिकारमा छलफल गरिने

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलनमा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, प्रदेश अधिकार, वित्तीय सङ्घीयता र अन्तरप्रदेश सहकार्यलगायत विषयमा छलफल हुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सचिवालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्न सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सम्मेलनमा संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीयताको कार्यान्वयनका क्रममा प्रदेशहरूले प्राप्त गरेका अनुभव, सफल अभ्यास र साझा चुनौतीबारे छलफल हुनेछ । संविधानप्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग, सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता र आवश्यक कानुनी तथा नीतिगत सुधारका विषय पनि छलफलमा समेटिनेछन् ।

त्यस्तै, वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको आन्तरिक आय वृद्धि, स्रोत परिचालन, साझा विकास आयोजना तथा कार्यक्रमको पहिचान र कार्यान्वयनलाई सम्मेलनले प्राथमिकता दिने जनाइएको छ । अन्तरप्रदेश पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँट तथा विपद् व्यवस्थापनमा सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

सम्मेलनमा सुशासन, सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासको आदानप्रदान र प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयसमेत उठाइनेछ । नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने, विकासका उपलब्धि जनतासम्म पुर्‍याउने र प्रदेशको आन्तरिक आय अभिवृद्धिका सम्भावना उपयोग गर्ने सम्मेलनका प्रमुख उद्देश्य रहेको संयोजक निरौलाले बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहने जानकारी दिनुभयो । उहाँले सम्मेलनबाट प्रदेशहरूबीच साझा धारणा निर्माण हुने अपेक्षा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय शासन प्रणालीलाई सुदृढ, परिणाममुखी र नागरिकमैत्री बनाउन सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै साझा एजेन्डा, प्रस्तावित कार्ययोजना र प्रतिबद्धतामार्फत अन्तरप्रदेश सहकार्यलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने दिशामा ठोस पहल गरिने बताउनुभयो ।

पत्रकारका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सङ्घीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका साझा लक्ष्य हासिल गर्न सम्मेलनलाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!