डेडिकेटेड फेसिलिटी अभावमा २४ कम्पनीका ४७ इम्युनोसप्रेसेन्ट औषधिको दर्ता खारेज

काठमाडौं / रत्न काजि प्रजापति। औषधि उत्पादनका लागि आवश्यक छुट्टै उत्पादन संरचना (डेडिकेटेड फेसिलिटी) नभएको भन्दै औषधि व्यवस्था विभागले २४ कम्पनीका ४७ इम्युनोसप्रेसेन्ट औषधिको दर्ता तथा अनुमतिसम्बन्धी प्रमाणपत्र खारेज गरेको छ। विभागले असोज २७ गते सार्वजनिक गरेको सूचनाअनुसार खारेजीमा पर्ने औषधिमा १९ नेपाली, चार भारतीय र एक बंगलादेशी कम्पनीका उत्पादन समावेश छन्।

विभागको निर्णयबाट प्रभावित हुने औषधिमा इन्टास फर्मास्युटिकल्ससहित विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका उत्पादन छन्। सूचीमा एउटै औषधिका फरक ब्रान्ड र मात्रा छुट्टाछुट्टै समावेश गरिएकाले कुल विवरण संख्या ४७ पुगेको हो।

विभागका अनुसार औषधि उत्पादन गर्दा एक औषधिमा प्रयोग हुने सक्रिय पदार्थ अर्को औषधिमा मिसिन सक्ने जोखिम अर्थात् क्रस–कन्टामिनेसन नियन्त्रण गर्न छुट्टै उत्पादन संरचना आवश्यक हुन्छ। औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागको सूचनामा उल्लेख छ।

यसअघि जेठ २१ गते जारी सार्वजनिक सूचनामा तोकिएको अवधि समाप्त भएपछि असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, बिक्री–वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिसपत्र खारेज गरिएको विभागले जनाएको छ।

कुन–कुन कम्पनीका औषधि प्रभावित?

विदेशी कम्पनीतर्फ भारतका इन्टास फर्मास्युटिकल्स, पानासिया बायोटेक, आरपीजी लाइफसाइन्सेस र माइक्रोल्याब्स तथा बंगलादेशको एस्केएफ फर्मास्युटिकल्सका औषधि सूचीमा छन्। नेपाली कम्पनीतर्फ डिभाइन ल्याबोरेटोरिज, मारुती फार्मा, फार्मोनिक्स लाइफसाइन्सेस, एसियन फर्मास्युटिकल्स, निभिक्स, प्राइम, नेपाल रेमेडिज, भेगा, मेड्रिक, ओम र सीटीएल लगायत कम्पनीका उत्पादन समावेश छन्।

सूचीमा ट्याक्रोलिमस, माइकोफेनोलेट, टोफासिटिनिब र लेफ्लुनोमाइडसम्बन्धी औषधि छन्। यी औषधि अंग प्रत्यारोपणपछि प्रतिरक्षा प्रणालीको प्रतिक्रिया नियन्त्रण गर्न तथा केही प्रकारका स्वप्रतिरक्षी रोगको उपचारमा प्रयोग गरिन्छन्।

आपूर्ति व्यवस्थापनका लागि अस्थायी व्यवस्था

विभागले जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति व्यवस्थापनका लागि बढीमा तीन महिनासम्मको अस्थायी व्यवस्था पनि उल्लेख गरेको छ। यस्तो व्यवस्थाअन्तर्गत सम्बन्धित उत्पादक तथा पैठारीकर्ताले आयात गर्दा प्रज्ञापनपत्रसहित मौज्दात विवरण विभागमा बुझाउनुपर्नेछ।

डेडिकेटेड फेसिलिटी भएका दर्तावाल उत्पादक तथा पैठारीकर्तालाई बजारमा औषधिको नियमित, पर्याप्त र सहज उपलब्धता सुनिश्चित गर्न पनि विभागले निर्देशन दिएको छ।

बिरामीको उपचारमा पर्न सक्ने प्रभावबारे चासो

इम्युनोसप्रेसेन्ट औषधि नियमित प्रयोग गर्नुपर्ने बिरामीका लागि दर्ता तथा पैठारी अनुमतिसम्बन्धी निर्णयले औषधिको उपलब्धता र वैकल्पिक ब्रान्डको व्यवस्थापनलाई महत्त्वपूर्ण बनाएको छ। विशेषगरी अंग प्रत्यारोपण गरेका बिरामीले प्रयोग गरिरहेको औषधि अचानक बन्द गर्दा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने भएकाले चिकित्सकको परामर्शबिना औषधि परिवर्तन वा सेवन बन्द गर्नु हुँदैन।

विभागको निर्णयलाई सूचीमा परेका सबै औषधि गुणस्तरहीन वा दूषित प्रमाणित भएको अर्थमा बुझ्न मिल्दैन। विभागले सार्वजनिक गरेको सूचनामा उल्लेखित कारबाहीको आधार छुट्टै उत्पादन संरचनाको अभाव तथा त्यससँग सम्बन्धित गुणस्तर र सुरक्षा जोखिम नियन्त्रण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!