कान्तिपुर पोल्ट्रीद्वारा उत्कृष्ट कर्मचारी, ग्राहक र आपूर्तिकर्ता सम्मानित

बारा — बाराको निजगढ नगरपालिका–७ मा सञ्चालित कान्तिपुर पोल्ट्रीले आफ्ना कर्मचारी, ग्राहक, आपूर्तिकर्ता तथा सञ्चारकर्मीको सम्मानमा ‘कामदार सन्ध्या’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, ग्राहक र आपूर्तिकर्तालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष कर्मचारीका रूपमा खड्ग सिंह जर्घा, उत्कृष्ट क्षमता प्रदर्शन गर्ने राजुकुमार घिमिरे र उत्कृष्ट कामदारका रूपमा सपना बर्तौला सम्मानित भएका छन्।

त्यसैगरी, कठिन श्रम गर्ने ओमनारायण मानन्धर, उत्कृष्ट कार्य गर्ने सावित्री दवाडी र प्राविधिक सहयोगी खुसीराज दहाललाई पनि पुरस्कृत गरिएको छ। कार्यक्रममा उत्कृष्ट ग्राहकका रूपमा सर्लाहीका राजेन्द्र साह र उत्कृष्ट आपूर्तिकर्ताका रूपमा निजगढका केदारप्रसाद चौलागाई सम्मानित भएका छन्।

कार्यक्रममा पोल्ट्रीका सञ्चालक नवराज पौडेलले संस्थाको व्यावसायिक अवस्था र सामाजिक उत्तरदायित्वका गतिविधिबारे जानकारी गराएका थिए। उनले हालै कर्मचारीलाई एक महिनाको तलबबराबर बोनस वितरण गरिएको र रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक लाख दुई हजार रुपैयाँ प्रदान गरिएको बताए।

वि.सं. २०७२ सालमा स्थापना भएको कान्तिपुर पोल्ट्रीमा हाल ४० जना कर्मचारी कार्यरत छन्। फार्मले वार्षिक १८ लाख कुखुराका चल्ला उत्पादन गर्दै आएको जनाइएको छ।

कर्मचारीको योगदानको कदर गर्नुका साथै ग्राहक र आपूर्तिकर्तासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सञ्चारकर्मीहरूको समेत सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!