भक्तपुर । बालबालिकाको अधिकार संरक्षण, स्वास्थ्य, शिक्षा र विकासमा निर्धारित सूचक पूरा गरेपछि भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेका हुन्।

नगरपालिकाका सबै १० वटै वडालाई दुई महिनाअघि नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकिएको थियो। नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि नगरपालिकालाई बालमैत्री घोषणा गरिएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए।
बालमैत्री स्थानीय शासनको अवधारणाले बालबालिकालाई संरक्षणमा मात्र सीमित नराखी उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षित वातावरण र निर्णय प्रक्रियामा सहभागितालाई समेत प्राथमिकता दिन्छ। सूर्यविनायक नगरपालिकाले घोषणा प्रक्रियाका लागि बालबालिकाको जीवनस्तर र अधिकारसँग सम्बन्धित विभिन्न सूचक पूरा गरेको जनाएको छ।

नगरप्रमुख थापाका अनुसार ‘बाल बचाउ’ अन्तर्गतका १४ वटा सूचकमा बालविवाह, बालश्रम र सडक बालबालिकाको अवस्था न्यूनीकरण तथा अन्त्यसँग सम्बन्धित व्यवस्था समेटिएका छन्। गर्भवतीले सात पटक स्वास्थ्य परीक्षण गराएको, टिटानसविरुद्धको खोप र आइरन चक्की सेवन गरेको, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी सेवा प्राप्त गरेको तथा बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि यी सूचकमा समावेश छन्।
त्यस्तै, ‘बाल संरक्षण’ अन्तर्गतका १० वटा सूचक पूरा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए। उनका अनुसार बालविवाह निषेध, बालश्रमको अन्त्य, बालबालिकामाथि हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम तथा सडक र बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण एवं पुनःस्थापनासम्बन्धी व्यवस्था यसअन्तर्गत पर्छन्।
बालविकास तर्फका छ वटा सूचकमा जन्मिएका सबै बालबालिकाको जन्मदर्ता, विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय भर्ना तथा विद्यालय र समुदायमा बालमैत्री एवं लैङ्गिकमैत्री शौचालय र स्वच्छ खानेपानीको उपलब्धतालाई समेटिएको छ। यसका साथै टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन गरी सक्रिय बनाउने र स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई समेत प्राथमिकता दिइएको छ।
मुख्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सफल भएकोमा नगरपालिकालाई बधाई दिए। सबै वडाले निर्धारित सूचक पूरा गरी बालमैत्री घोषणा भइसकेपछि नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको उनको भनाइ थियो।
बालमैत्री घोषणा हुनु उपलब्धि भए पनि यसको प्रभावकारिता आगामी दिनमा बालबालिकाले व्यवहारमै प्राप्त गर्ने सेवा, सुरक्षा र अवसरबाट मापन हुनेछ। त्यसैले निर्धारित सूचकलाई निरन्तर कार्यान्वयन गर्दै बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार नियन्त्रण, शिक्षामा पहुँच, स्वास्थ्य सेवा र स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सहभागिता कायम राख्नु नगरपालिकाका लागि महत्त्वपूर्ण हुनेछ।