औषधि व्यवस्था विभागका सेवा अब राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन

काठमाडौ/रत्न काजि प्रजापति। औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि तथा औषधिजन्य सामग्रीको आयात–निर्यातसम्बन्धी विभिन्न सेवा अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) मार्फत अनलाइन उपलब्ध हुने भएका छन्। विभागले बिहीबारदेखि उक्त प्रणालीमार्फत प्रदान गरिने अनलाइन सेवाको औपचारिक शुभारम्भ गरेको हो।

औषधि व्यवस्था विभागमा आयोजित समारोहमा विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षता तथा भन्सार विभागका महानिर्देशकको प्रमुख आतिथ्यतामा अनलाइन सेवाको शुभारम्भ गरिएको हो। कार्यक्रममा अर्थ मन्त्रालय, भन्सार विभाग, राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू), औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधिहरूको सहभागिता थियो।

नयाँ प्रणालीमार्फत औषधिजन्य कच्चा पदार्थ आयात, औषधि निर्यात, स्वास्थ्य प्रविधिजन्य सामग्री आयात, प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना तथा रेफरेन्स स्ट्यान्डर्ड आयात र बिरामीका लागि औषधि आयात गर्न आवश्यक सिफारिसपत्रका लागि अनलाइन आवेदन दिन सकिनेछ। त्यस्तै, औषधि आयातका लागि विशेष सिफारिसपत्रलगायतका सेवासमेत अनलाइन प्रणालीमा समेटिएका छन्।

यस प्रणालीबाट सेवाग्राहीले आवश्यक विवरणसहित अनलाइन आवेदन पेस गर्न, सम्बन्धित कागजात अपलोड गर्न, लाग्ने राजस्व तथा शुल्क अनलाइन भुक्तानी गर्न र स्वीकृत सिफारिसपत्र तथा प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्। यसले सेवा लिन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था तथा कागजी प्रक्रियाबाट हुने झन्झट कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनलाइन सेवा सञ्चालनमा आएसँगै औषधि तथा औषधिजन्य सामग्रीको आयात–निर्यातसम्बन्धी प्रशासनिक प्रक्रिया सहज, व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ। साथै, सेवा प्रवाहमा लाग्ने समय घटाउन, व्यापार सहजीकरण गर्न र सम्बन्धित सरकारी निकायबीचको समन्वयलाई थप सुदृढ बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा छ।

औषधि व्यवस्था विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयबीचको सहकार्य तथा समन्वयमा अघि बढाइएको यो पहल सरकारी सेवा प्रवाहलाई डिजिटल बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। राष्ट्रिय एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउनुले औषधि व्यवस्था विभागको सेवा प्रक्रियालाई थप प्रविधिमैत्री बनाउनुका साथै औषधि तथा स्वास्थ्य सामग्रीको वैदेशिक व्यापारसम्बन्धी प्रक्रियालाई आधुनिकीकरण गर्न सहयोग पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!