मध्यपुर थिमि/रत्न काजि प्रजापति । मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मोड्युलर आईसीयू (सघन उपचार कक्ष) सेवा सुरु भएको छ। आज आयोजित समारोहमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सेवाको उद्घाटन गरेका हुन्।
मोड्युलर आईसीयू आधुनिक प्रविधि, आवश्यक मेडिकल उपकरण, अक्सिजन आपूर्ति, बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्ने प्रणाली तथा संक्रमण नियन्त्रणका सुविधालाई एकीकृत रूपमा व्यवस्थित गरी तयार गरिएको सघन उपचार कक्ष हो। यसमा गम्भीर अवस्थाका बिरामीको निरन्तर निगरानी र उपचार गर्न सकिन्छ। यस सेवाले सघन उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालमै उपचारको सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले आफू निर्वाचित भएर आएदेखि नै अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले काम गरिरहेको बताए। उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई नगरपालिकाबाट सञ्चालित सुविधासम्पन्न अस्पतालका रूपमा विकास गरिएको उल्लेख गर्दै स्वास्थ्य सेवा र सुविधाको विस्तारसँगै अस्पतालमा बिरामीको चाप बढिरहेको बताए।
अस्पताल स्वास्थ्य बिमा दाबी गर्ने अस्पतालमध्ये पाँचौँ ठूलो अस्पताल बन्नु गौरवको विषय भएको उल्लेख गर्दै श्रेष्ठले बिरामीका गुनासा सम्बोधन गर्न अस्पताल प्रशासन थप जिम्मेवार हुनुपर्नेमा जोड दिए। अस्पतालको नयाँ भवन निर्माण सम्पन्न हुने क्रममा रहेको जानकारी दिँदै उनले भवन सञ्चालनमा आएपछि बिरामीले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अस्पतालले पोर्टेबल अल्ट्रासाउन्ड मेसिन खरिद गरी वडा–वडामा सेवा विस्तार गरेकै कारण देशका १० उत्कृष्ट सामुदायिक अस्पतालमध्ये पर्न सफल भएको पनि नगर प्रमुख श्रेष्ठले बताए। आगामी दिनमा कार्डियोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको र मुटुसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी ए ग्रेडको एम्बुलेन्स खरिद गर्न लागिएको उनले जानकारी दिए।
नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले अत्याधुनिक आईसीयू सेवा सञ्चालनमा आएसँगै सघन उपचार आवश्यक परेका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने बताए। अस्पताललाई विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले चार वर्षअघिसम्म घाटामा रहेको अस्पतालले पछिल्लो समय सेवा तथा सुविधा विस्तारसँगै आर्थिक सुधार गर्न सफल भएको बताए।
अस्पताल ब्यबस्थापन समितिका सदस्य हरिदास प्रजापतिले केही वर्षको अवधिमा अस्पतालले उल्लेखनीय प्रगति गरेको बताउँदै बिरामीलाई उच्च मनोबलका साथ गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए। उनका अनुसार अस्पतालमा देशका विभिन्न स्थानबाट उपचारका लागि बिरामी आउने गरेका छन् भने दैनिक करिब १ हजार २०० जनाले सेवा लिने गरेका छन्। उनले मोड्युलर आईसीयू सेवा सञ्चालनमा आउनु अस्पतालको सेवा विस्तारमा महत्त्वपूर्ण उपलब्धि भएको बताए।
अस्पतालका कार्यकारी निर्देशक डा. डि के रोशनले चालु वर्षलाई अस्पतालको विकास तथा उन्नतिको वर्षका रूपमा अघि बढाइएको जानकारी दिए। २७ वर्षअघि सानो हेल्थपोस्टबाट सुरु भएको अस्पतालले पछिल्ला चार वर्षमा उल्लेखनीय प्रगति गरेको बताउँदै उनले यस अवधिमा सिटी स्क्यान, ब्लड बैंक र डायलाइसिस सेवासमेत सुरु गरिएको जानकारी दिए। अस्पतालको विकासमा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त भइरहेको उनको भनाइ थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले जिल्लामा सघन उपचार सेवा सीमित रहेकाले नयाँ आईसीयू सेवाले बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने बताइन्। स्थानीय नागरिकले तुलनात्मक रूपमा कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको उनको भनाइ थियो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगर प्रवक्ता कृष्णहरि आचार्य, विभिन्न वडाका अध्यक्षहरू तथा अस्पतालका पदाधिकारी र कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
फोटो फिचर:
