इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरण र प्रयोगमा रोक छैन, नयाँ उत्पादन तथा आयातमा मात्रै नियमन
काठमाडौं । नेपाल औषधि व्यवसायी संघको पहल तथा सरोकारवालासँगको समन्वयमा इम्युनोसप्रेसेन्ट वर्गका औषधिको सहज आपूर्ति सुनिश्चित गर्ने विषयमा स्पष्टता आएको छ। औषधि व्यवस्था विभागले यस वर्गका ४७ ब्रान्डका औषधिको दर्तासम्बन्धी निर्णयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना भएको भन्दै बजारमा उपलब्ध औषधिको बिक्री–वितरण र प्रयोगमा रोक नलगाइएको स्पष्ट पारेको छ।
विभागले २०८३ असोज २७ गते जारी सूचनाबारे स्पष्टीकरण दिँदै तोकिएको समयभित्र जोखिम मूल्यांकनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। उक्त निर्णयले बजारमा पहिल्यै भित्रिएका तथा बिक्री–वितरणमा रहेका औषधिको बिक्री र प्रयोगलाई प्रभावित नगर्ने विभागको भनाइ छ।
अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोगका कारण नियमित रूपमा इम्युनोसप्रेसेन्ट औषधि सेवन गर्नुपर्ने बिरामीलाई औषधि अभाव हुन नदिन विभागले आपूर्ति व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ। जोखिम मूल्यांकनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई बजारको आपूर्ति सन्तुलन कायम राख्न बढीमा तीन महिनासम्म उत्पादन तथा आयातको अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको विभागले स्पष्ट पारेको छ।
औषधिको गुणस्तर र बिरामीको सुरक्षालाई प्राथमिकता दिँदै विभागले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अन्तर्राष्ट्रिय मापदण्डअनुसार इम्युनोसप्रेसेन्ट औषधि उत्पादनका लागि छुट्टै उत्पादन संरचना (Dedicated Facility) को व्यवस्था लागू गरेको जनाएको छ। औषधिबीच हुन सक्ने क्रस–कन्टामिनेसनको जोखिम न्यूनीकरण गर्न जोखिम व्यवस्थापन, क्लिनिङ भ्यालिडेसन, छुट्टै एचभीएसी प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमा (एचबीईएल) लगायतका मापदण्ड पालना गर्नुपर्ने विभागको भनाइ छ।
विभागका अनुसार यस विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ र नेपाल औषधि व्यवसायी संघसँग निरन्तर समन्वय भइरहेको छ। निर्णय कार्यान्वयन गर्नुअघि नै २०८३ वैशाख १५ र जेठ २१ गते सार्वजनिक सूचना जारी गरी सम्बन्धित उद्योग तथा सरोकारवालालाई जानकारी गराइएको पनि विभागले जनाएको छ।
विभागले पछिल्लो निर्णयका कारण बजारमा इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरण बन्द भएको वा औषधि अभाव हुने भन्ने खबर भ्रामक रहेको भन्दै त्यस्ता समाचारको पछि नलाग्न सर्वसाधारण तथा बिरामीलाई आग्रह गरेको छ। बिरामीले चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित रूपमा सेवन गर्न सक्ने विभागले स्पष्ट पारेको छ।
अङ्ग प्रत्यारोपणपछि तथा अन्य दीर्घकालीन उपचारका क्रममा प्रयोग हुने औषधिको आपूर्ति प्रभावित नहोस् भन्ने विषय संवेदनशील रहेकाले औषधि व्यवसायी, उत्पादक, आयातकर्ता र नियामक निकायबीचको समन्वयलाई महत्त्वपूर्ण मानिएको छ। विभागले औषधिको गुणस्तर, बिरामीको सुरक्षा र नियमित आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।
