विश्व पोलियो दिवसमा साइकल र्‍याली गर्न युनाइटेड अजोड इन्स्योरेन्ससँग सम्झौता

भक्तपुर। विश्व पोलियो दिवस २०२६ को अवसरमा पोलियोमुक्त विश्वको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल र्‍यालीमा सहभागी हुने साइकलयात्रीको बीमा गरिने भएको छ। यसका लागि रोटरी डिस्ट्रिक्ट ३२९२ को पोलियो उपसमिति र युनाइटेड अजोड इन्स्योरेन्सबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

रोटरी डिस्ट्रिक्ट ३२९२ को पोलियो उपसमितिको पहलमा रोटरी क्लब अफ भक्तपुर (आयोजक क्लब) र साइकल कनेक्ट भक्तपुरको सहकार्यमा आगामी अक्टोबर २४, २०२६ अर्थात् कात्तिक ८ गते विश्व पोलियो दिवसका अवसरमा साइकल र्‍याली आयोजना गर्न लागिएको हो।

सम्झौताअनुसार र्‍यालीमा सहभागी हुने पूर्वदर्ता गरेका सबै साइकलयात्रीलाई युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सुविधा उपलब्ध गराउनेछ। यसले कार्यक्रमलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

पोलियो रोगबारे जनचेतना अभिवृद्धि गर्नु, पोलियो उन्मूलनको अभियानलाई समर्थन गर्नु र पोलियोमुक्त पुस्ता निर्माणको सन्देश समुदायसम्म पुर्‍याउनु र्‍यालीको मुख्य उद्देश्य रहेको छ।

आयोजकले यस अभियानमा सहकार्य गर्दै साइकलयात्रीको सुरक्षाका लागि बीमा सुविधा उपलब्ध गराएकोमा युनाइटेड अजोड इन्स्योरेन्सप्रति आभार व्यक्त गरेको छ।

‘पोलियोमुक्त पुस्ताका लागि सँगै साइकल चलाऔँ’ भन्ने सन्देशसहित आयोजना हुने र्‍यालीले पोलियो उन्मूलनका लागि सामूहिक प्रतिबद्धता र जनसहभागिता बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!