चौथो प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि वडा नं. १६ लाई

काठमाडौं । काठमाडौं महानगरपालिकास्तरीय चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नं. १६ ले जितेको छ। लैनचौरस्थित काठमाडौं महानगरपालिकाको फुटसल ग्राउण्डमा सम्पन्न फाइनलमा वडा नं. १६ ले वडा नं. ६ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

काठमाडौं महानगरपालिका वडा नं. २३ को आयोजनामा भएको प्रतियोगितामा महानगरपालिकाको केन्द्रको टोलीसहित विभिन्न वडाका २३ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धात्मक फाइनलमा वडा नं. १६ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै वडा नं. ६ लाई पछि पारेर उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधिसँगै वडा नं. १६ ले नगद दुई लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता वडा नं. ६ ले नगद एक लाख रुपैयाँसहित ट्रफी र मेडल हात पारेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न व्यक्तिगत विधामा सम्मानसमेत गरिएको थियो।

व्यक्तिगत विधातर्फ वडा नं. ६ का संयम घिमिरे उत्कृष्ट खेलाडी घोषित भए। वडा नं. १६ का सुदीप गिरी उत्कृष्ट गोलकिपर बने भने वडा नं. ४ का असिम गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि जिते। विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले प्रतियोगिता समापन गर्नुभएको थियो।

प्रयागराज सिंह सुवालको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले महानगरभित्रका वडाबीच खेलकुद प्रतिस्पर्धा, प्रतिभा पहिचान र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुर्‍याएको छ। प्रतियोगिताले स्थानीयस्तरमा फुटसल खेलको विकास र खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!