काठमाडौं । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव नियन्त्रण तथा सीमित व्यवसायीको एकाधिकार अन्त्यको मागसहित ‘पोल्ट्री किसान राष्ट्रिय आन्दोलन संघर्ष समिति’ को केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ।
पोल्ट्री क्षेत्रमा देखिएका अस्वाभाविक मूल्यवृद्धि, बजारको असन्तुलन तथा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको अवस्थालाई सम्बोधन गर्न आन्दोलनको आवश्यकता महसुस गर्दै समिति गठन गरिएको जनाइएको छ।
किसानहरूलाई सम्भावित ठगीबाट जोगाउने, उनीहरूको श्रमको उचित मूल्य सुनिश्चित गर्ने र पोल्ट्री क्षेत्रका साझा समस्या समाधानका लागि सरकारलाई दबाब दिने समितिको उद्देश्य रहेको छ। साथै, किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नीतिगत सुधारका लागि निरन्तर संघर्ष र संवाद अघि बढाइने जनाइएको छ।
समितिको संयोजकमा रौतहटका राधेश्याम साह र सहसंयोजकमा लमजुङका सन्तोष अधिकारी चयन भएका छन्। त्यस्तै, देशका विभिन्न जिल्लाका पोल्ट्री किसान तथा प्रतिनिधिहरूलाई समेटेर केन्द्रीय तदर्थ समिति गठन गरिएको छ।
समितिका सदस्यहरूमा ईश्वर सापकोटा (कास्की), कल्पना सुवेदी (बर्दिया), जय प्रकाश बुढा मगर (काठमाडौं), सुरेश थापा (सुन्दरीजल), शंकर राय (महोत्तरी), आनन्द साह (धनुषा), नारायण गिरी (पोखरा), जय पोखरेल (झापा), सुदेश गुप्ता (बारा), सुनिल राइका (गोरखा), बद्री घिमिरे (ललितपुर), जगर्नाथ चौधरी (सर्लाही), श्याम सुन्दर साह (सप्तरी), विजय कुमार साह (विराटनगर), गौतम फुयाल (काठमाडौं), अर्जुन न्यौपाने (नुवाकोट), सरला थापा (पोखरा), गोविन्द संग्रौला र नेमा तामाङ (रसुवा) रहेका छन्।
समितिले पोल्ट्री किसानका समस्यालाई सामूहिक रूपमा उठाउँदै बजारमा निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण, किसानमैत्री नीति तथा उत्पादनको उचित मूल्य सुनिश्चितताका लागि सरकार र सम्बन्धित निकायसँग पहल गर्ने लक्ष्य राखेको छ।
पोल्ट्री क्षेत्रको उत्पादन, वितरण तथा मूल्य निर्धारण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन किसानको संगठित आवाज आवश्यक रहेको समितिको गठनको पृष्ठभूमिले देखाएको छ।
AI Image