मध्यपुर थिमिको बेरुजु प्रकरणमा नगरपालिकाको स्पष्टीकरण : अनियमितता नभएको दाबी

बेरुजु रकम नगरसभाबाट नियमित गरी फर्छ्योट गरिएको नगरपालिकाको भनाइ

मध्यपुर थिमि/ रत्न काजि प्रजापति । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित बेरुजुका विषयमा सामाजिक सञ्जालमा प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जारी गरेको स्पष्टीकरणमा ‘ग्राउन्ड जिरो’ नामक सामाजिक सञ्जालबाट प्रसारित समाचारमा उल्लेखित विषयहरूबारे विभिन्न कारण खुलाउँदै सरकारी हानि–नोक्सानी तथा अनियमितता नभएको दाबी गरिएको छ।

नगरपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा जम्मा गर्न सम्बन्धित बैंकमा पठाइएको ६४ लाख ५३ हजार ५१९ रुपैयाँ ८५ पैसासमेत आवश्यक कागजात वा प्रमाण पेस नगरी भुक्तानी गरिएको भनी उल्लेख भएको छ। तर, सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा २९ तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार एक आर्थिक वर्षसम्म रकम नझिकेका लाभग्राहीको विवरण र बैंकको पार्किङ वा सेटलमेन्ट खातामा बाँकी रकमको विवरण माग गरी अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ। रकम नझिक्नुको कारण यकिन गरी बाँकी रकम बेरुजु फर्छ्योट गर्ने प्रक्रिया अघि बढाइएको स्पष्टीकरणमा उल्लेख छ।

त्यसैगरी, शंखधर पार्क, नगदेश ्लायकु दरबार र बसी पुखु संग्रहालयजस्ता सम्पदा निर्माणका काम स्थानीय कला, सीप, स्रोतसाधन र जनसहभागितालाई उपयोग गर्दै उपभोक्ता समितिमार्फत गरिएको नगरपालिकाले स्पष्ट पारेको छ। परम्परागत शहरको मौलिकता संरक्षण गर्नुपर्ने र नगरपालिकाको सीमित स्रोतका कारण एकैपटक ठूलो बजेट विनियोजन गरी ठेक्का आह्वान गर्न नसकिएको भन्दै सार्वजनिक खरिद नियमावली, २०६४ ले तोकेको लागत अनुमानको सीमाभित्र रहेर काम गरिएको दाबी गरिएको छ।

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल र नेपाल प्रहरीको भवन निर्माण तथा रंगरोगनसम्बन्धी काम पनि नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने संरचना भएकाले तोकिएको लागत अनुमानको सीमाभित्र रही उपभोक्ता समितिमार्फत गरिएको नगरपालिकाको भनाइ छ।

गठ्ठाघर कृष्ण अर्पणदेखि महादेवस्थान, वडा नं. २ सम्मको सडक निर्माणमा प्रदेश सरकारबाट समेत बजेट विनियोजन भएको उल्लेख गर्दै नगरपालिकाले स्वीकृत परिणामभन्दा कम लागतमा निर्माण कार्य सम्पन्न भएको जनाएको छ। उक्त योजनामा ८३.३७ प्रतिशत खर्चमै उद्देश्य प्राप्त भएकाले काम स्वीकार गरिएको स्पष्टीकरणमा उल्लेख छ।

नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समन्वय गर्दै आएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका कार्यालयहरूको अनुरोधमा सवारीसाधन मर्मत गरिएको पनि नगरपालिकाले जनाएको छ। ती निकायसँगको समन्वयलाई प्रभावकारी बनाउन मर्मतसम्भार गरिएको उसको भनाइ छ।

नगरपालिकाले उल्लिखित कार्यहरूमा सरकारी हानि–नोक्सानी तथा अनियमितता नभएको दाबी गर्दै बेरुजु रकम नगरसभाको चौधौँ अधिवेशनबाट नियमित गरिएको जनाएको छ। लेखा समितिको प्रतिवेदनका आधारमा बेरुजु नियमित गरी फर्छ्योट गरिएको र सम्परीक्षणको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जारी गरेको स्पष्टीकरणमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!