Trouw Nutrition र कान्तिपुर भेट डिस्ट्रीब्युटर्सद्वारा विश्व अण्डा दिवसमा विशेष कार्यक्रम

काठमाडौं/ रत्न काजि प्रजापति । विश्व अण्डा दिवसको अवसरमा Trouw Nutrition र कान्तिपुर भेट डिस्ट्रिब्युटर्सको सहकार्यमा काठमाडौंको तारकेश्वरस्थित जेनिएल मोडर्न एकेडेमीमा अण्डाको पोषण महत्वसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालयका कर्मचारी गरी करिब एक हजार जनाको सहभागिता रहेको कार्यक्रममार्फत आयोजकले अण्डाको पोषण महत्व र स्वस्थ खानपानबारे जनचेतना फैलाउने प्रयास गरेका छन्।

अण्डाको पोषण महत्वबारे विद्यार्थीलाई जानकारी दिने तथा बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा डाइटिसियन नानी शोभा शाक्यले अण्डामा पाइने पोषक तत्व, बालबालिकाको वृद्धि तथा विकासमा यसको भूमिका र सन्तुलित आहारमा अण्डाको आवश्यकताबारे प्रस्तुति दिनुभएको थियो।

अण्डा उच्च गुणस्तरको प्रोटिनसहित विभिन्न भिटामिन तथा खनिजको महत्वपूर्ण स्रोत हो। बालबालिकाको शारीरिक विकास, मांसपेशी निर्माण तथा शरीरका विभिन्न कार्यलाई सहयोग पुर्‍याउन अण्डाले महत्वपूर्ण भूमिका खेल्छ। यही सन्देश विद्यार्थीमाझ पुर्‍याउँदै अण्डाको पोषण महत्वबारे व्यावहारिक जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको थियो।

पशुपन्छी पोषण तथा पशु आहार क्षेत्रमा सक्रिय Trouw Nutrition र कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले विश्व अण्डा दिवसलाई लक्षित गरी विद्यालयस्तरमा कार्यक्रम आयोजना गरेका हुन्। विद्यालयमा ठूलो संख्यामा विद्यार्थीको सहभागितासहित कार्यक्रम सञ्चालन गरेर आयोजकले अण्डाको पोषण महत्वलाई बालबालिका तथा उनीहरूका परिवारसम्म पुर्‍याउने प्रयास गरेका छन्।

कार्यक्रममा जेनिएल मोडर्न एकेडेमीका अध्यक्ष महेश पौडेल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिराज राई तथा Trouw Nutrition का नेपाल प्रतिनिधि पुरुषोत्तम राईको उपस्थिति रहेको थियो।

विश्व अण्डा दिवसका अवसरमा आयोजित यस कार्यक्रमले अण्डाको पोषण महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीका लागि सन्तुलित आहारको आवश्यकताबारे विद्यार्थीलाई जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Photo Features:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!