दिगो शहरी विकास, सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा अनुभव आदानप्रदान हुने
मध्यपुर थिमि/रत्न काजि प्रजापति । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ १५औँ एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन आज जापान प्रस्थान गरेका छन्। नगर प्रमुख श्रेष्ठसँगै उपप्रमुख विजय श्रेष्ठ र सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट पनि जापान गएका छन्।

जापानको फुकुओका शहरमा अक्टोबर १९ देखि २१ (कात्तिक २ देखि ४) सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन गएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगर प्रवक्ता कृष्णहरि आचार्य लगायतले बिदाइ गरेका थिए।
फुकुओका सहरले सन् १९९४ मा प्रस्ताव गरेको एसिया प्यासिफिक सिटी समिट एसिया–प्रशान्त क्षेत्रका ्शहरका नेतृत्वकर्ताबीच शहरी चुनौती, समाधानका उपाय तथा विकासका अभ्यासबारे अनुभव आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय मञ्च हो। यस सम्मेलनले शहरी समस्याको समाधानका लागि आपसी सहकार्य प्रवर्द्धन गर्नुका साथै सहरहरूको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने उद्देश्य राखेको छ।

सन् २०१८ मा १२औँ सम्मेलन आयोजना भएयता पहिलोपटक फुकुओकामा आयोजना हुन लागेको १५औँ सम्मेलनको मूल विषय ‘सहकार्य र सहसिर्जना मार्फत दिगो शहर निर्माण’ (Collaborating & Co-Creating: Initiatives for Sustainable Cities) रहेको छ। सम्मेलनमा एसिया प्यासिफिक सिटी समिटका सदस्य रहेका १५ देशका ३४ शहरका नेतृत्वकर्ताका साथै अन्य प्रमुख सहरका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा दिगो शहरी विकास, शहरी पूर्वाधार निर्माण, सार्वजनिक–निजी साझेदारी, सुरक्षित तथा विपद् उत्थानशील शहर निर्माण र बदलिँदो जनसांख्यिक अवस्था अनुकूल ्शहरी विकासका विषयमा छलफल हुनेछ। साथै, कोभिड–१९ महामारी र प्रविधिको तीव्र विकासपछि ्शहरहरूले सामना गरिरहेका नयाँ चुनौती तथा तिनको समाधानका उपायबारे पनि अनुभव आदानप्रदान गरिनेछ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) लगायतका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहनेछ। सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यलाई ध्यानमा राख्दै सहरहरूबीच सहकार्य र साझा पहललाई प्रभावकारी बनाउने विषयमा सम्मेलन केन्द्रित हुनेछ।
अन्तर्राष्ट्रिय सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाको सहभागिताले नगरको मौलिक कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा स्थानीय विकासका अभ्यासलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी मौलिक नेवारी बस्ती, परम्परागत वास्तुकला, जात्रा तथा सांस्कृतिक सम्पदाले पहिचान बनाएको मध्यपुर थिमिका लागि अन्तर्राष्ट्रिय शहरहरूसँग अनुभव आदानप्रदान गर्नु महत्त्वपूर्ण हुने देखिन्छ।
सम्मेलनबाट अन्य सहरका सफल अभ्यास सिक्दै मध्यपुर थिमिको दिगो सहरी विकास, सम्पदा संरक्षण, सार्वजनिक सेवा प्रवाह तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना विस्तार गर्न सहयोग पुग्ने बिश्वास गरिएको छ।
