बनेपा/रत्न काजि प्रजापति
काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यावसायिक शहर बनेपा बजारमा दशैँ पर्वलाई लक्षित गरी विशेष अनुगमन गरिएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको टोलीले आज बनेपाका विभिन्न भेटेरिनरी औषधि पसल, मासु पसल तथा स्थानीय हाटबजारमा पुगेर अनुगमन गरेको हो।
कार्यालय प्रमुख ब्रज किशोर ठाकुरको प्रत्यक्ष नेतृत्वमा खटिएको अनुगमन टोलीले चाडपर्वको समयमा अस्वच्छ मासु तथा गुणस्तरहीन औषधिको बिक्री-वितरण रोक्न बजार निरीक्षण गरेको जनाएको छ। अनुगमनका क्रममा स्थानीय हाटबजारमा दशैँका लागि बेचबिखन गर्न ल्याइएका खसीबोकाहरूको स्वास्थ्य परीक्षण (Health Checkup) समेत गरिएको थियो।

निरीक्षणका क्रममा बनेपाका पसलहरूबाट म्याद गुज्रिएका (Expired) भेटेरिनरी औषधिहरू र उपभोगका लागि अयोग्य एवम् अस्वच्छ माछाहरू जफत गरिएको छ। जफत गरिएका सामग्रीहरूलाई पशु सेवा कार्यालयको परिसरमा ल्याई नेपाल प्रहरी र स्थानीय सञ्चारकर्मीहरूको प्रत्यक्ष रोहवरमा नियमानुसार नष्ट (Dispose) गरिएको छ।
चाडपर्वको अवसरमा उपभोक्ताको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी र निरन्तर बनाइने कार्यालय प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिनुभयो।