घरघरमा इन्टरनेट, हातहातमा मोबाईल नारा ल्याउदा खिसितिउरि गर्ने समाज यहि हो ः जुगल
भक्तपुर। प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मध्यपुर थिमि स्थित शंखधर पार्टी प्यालेसमा विशेष कार्यक्रमका बीच सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र परिवर्तनलाई सस्थागत गर्न प्रेस सेन्टरले थप योगदान गर्नुपर्ने आवस्यकता औंल्याए । वर्तमान सरकार प्रमुख प्रचण्ड र नेकपा माओवादी केन्द्र बाहेक अरु संग देश विकास र समृद्धिको स्पष्ट भिजन नभएको भन्दै उनले प्रचण्ड सरकारलाई जनता संग जोड्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्ने निर्देशन समेत दिए।
त्यसैगरी विशेष अतिथि एवं बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले सेन्टरमा आवद्ध पत्रकारका कलम तिखा र जनपक्षीय हुनुपर्ने बताए । पार्टीले प्रेस सेन्टरलाई सहि ढङ्गले परिचालन गर्न नसक्दा प्रचारको मोर्चा कमजोर बनेको उनको भनाइ थियो ।
विशेष अतिथि एवं बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले सेन्टरमा आवद्ध पत्रकारहरु आवाजविहीनहरुको आवाज बन्नुपर्ने बताए । अब पत्रकारको भूमिका बदलिनुपर्नेमा जोड दिँदै उनले सूचना, समाचार र विचार हतियार भन्दा शक्तिशाली हुने बताए ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्र भक्तपुरका संयोजक सुनिल गोथे वासु, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार भवानी बराल, उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, उपाध्यक्ष गंगा बराल, प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेल, उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल लगायतले प्रेस सेन्टरको कार्यभार र कार्यदिशा बारे प्रष्ट पारेका थिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सुर्य सुवेदीले पत्रकारका कदम र कलम सदैव जनपक्षीय पत्रकारिताको पक्षमा अगाडि बढ्नुपर्ने बताए ।
साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको सेन्टरका भक्तपुर अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले जानकारी दिए । उक्त साधारण सभाको अवसरमा जिल्लाबाट विशिष्ट क्षेत्रमा पुगेका व्यक्तिहरुलाई सम्मानित समेत गरिएको थियो ।


