भक्तपुर , ११ वैशाख २०८०ः
नेपालका लागि क्युवाली राजदूत अलेजान्ड्रो सिमानकास मारिनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको सोमबार स्थलगत अवलोकन गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजदूत मारिनलाई खादा र भादगाउँले टोपी लगाइ सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।
भक्तपुर भ्रमणमा आउनुभएका राजदूत मारिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच भेटमा दुई देशका जनताबीचको आपसी सम्बन्धबारे समेत छलफल गर्नुभयो । भेटमा राजदूत मारिनले भक्तपुर अवलोकन गर्न पाएकोमा निकै हर्षित भएको बताउँदै भक्तपुर नपाले गरिरहेको काम प्रशंसनीय छ भन्नुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा नेपाललाई केही सहयोग गर्न सक्ने पनि सो अवसरमा बताउनुभयो । उहाँले क्युवाको स्वास्थ्य सेवा समाजवादको मुख्य खम्बाको रुपमा अगाडि बढाउँदै सीमित स्रोतसाधनमा पनि क्युवाली नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले नेपाल र क्युवा भौगोलिक रुपमा निकै टाढा रहे पनि नेपाली जनता र क्युवाली जनता समाजवादी विचारले निकै नजिक रहेको बताउनुभयो । ‘हामी समाजवादी क्युवाबाट सिक्न चाहन्छौं’ – उहाँले भन्नुभयो ।
२०७२ सालको भूकम्पमा क्युवाले नेपाल र नेपाली जनतालाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै प्रमुख प्रजापतिले आगामी दिनहरुमा पनि दुई देशबीचको सम्बन्ध अझ बलियो र मजबुट हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले समाजवादी देश क्युवाको स्वास्थ्य नीतिबाट सिक्दै भक्तपुर नपाले आफ्नो क्षमताअनुसार घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र सञ्चालन तथा १०० शैय्याको अस्पताल सञ्चालन गरी जनतालाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
क्युवाली समाजवादबाट सिक्दै भक्तपुर नपाले समाजवादउन्मुख कामहरु गर्दै जनताको सेवा गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनबाट गरिब जनताको सेवा गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।
भेटमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ल, डा. अमर प्रजापति, अस्पताल व्यवस्थापक विश्वजित प्रजापति लगायतको उपस्थिति थियो ।