आगलागीमा कुनै मानवीय क्षती नभएको : प्रहरी
भक्तपुर, बैशाख ३१, २०८०:
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित एक फर्निचर उद्योगमा आइतवार राती भिषण आगलागी भएको छ । न्यु दाजुभाई फर्निचर ट्रेडर्समा साँझ करिव ७ बजे लागेको आगो करिव साढे ९ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट फर्निचर उद्योग जलेर पूर्ण नष्ट भएको र सँगै रहेको चार तल्ले घरको दुई तल्लामा समेत क्षती पुगेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
आगलागी नियन्त्रणका लागि भक्तपुरका दुई, काठमाण्डौंको एक र ललितपुरको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो । साथै प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय बासिन्दा आगो नियन्त्रणमा जुटेका थिए । आगलागीको क्षतीको विवरण संकलन भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो । आगलागीमा कुनै मानवीय क्षती नभएको उहाँले बताउनुभयो । अचानक हावाहुरीसहितको वर्षाले आगलागी नियन्त्रणका केही कठिनाई भएपनि हावाहुरी रोकिएपछि परेको वर्षाले भने आगलागी नियन्त्रणका लागि सहज भएको उहाँले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
