डा राकेश प्रजापति
बरिष्ठ पशु चिकित्सक
विगत केहि समय देखि देशका विभिन्न भूभागहरुमा गाइ भैसीहरुको जिउमा फोका आउने, ज्वरो आउने, दुध उत्पादनमा
कमी आउने जस्ता लक्षणहरु भएको लम्पी स्किन रोग व्यापक रुपमा फैलिरहेको छ । पक्स समुहको क्याप्री पक्स
विषाणुको कारण यो रोग गाइभैसीहरुमा लाग्ने गर्छ । यो रोग सर्वप्रथम अफ्रिकाको जाम्विया देशमा सन् १९२९ मा
देखिएको थियो । लामो समयसम्म अफ्रिकामा सिमित रहेको यो रोग सन् २०१२ पछि युरोप र एसियाली मुलुकहरुमा
पनि देखा परेको थियो ।
रोगका मुख्य लक्षणहरु
पशुको घाँटी, खुट्टाहरु, पेट र थुन वरिपरिका छालामा सानादेखि ठूला गिर्खाहरु देखिने ।
उच्च ज्वरो आउने । पशुको कान छाम्दा धेरै नै तातो हुने ।
दुध उत्पादनमा कमी आउने ।
नाकबाट सिंगान बग्ने ।
आँखामा कचेरा आउने ।
मुखबाट र्याल बग्ने ।
दाना पानी कम खाने ।
गर्भ अवस्थामा रहेका पशुहरुको गर्भ तुहिने ।
धेरै पशुहरुमा चाँडै रोग फैलिने ।
रोग सर्ने तरिकाहरु
रोगी पशु र निरोगी पशु एकै ठाउँमा राख्दा
रोगी पशुलाइ टोक्ने लामखुट्टे, झिगा र किर्नाले निरोगी पशुलाइ टोक्दा
रोगी पशु र निरोगी पशुलाइ उपचारको क्रममा एउटै सुइले घोच्दा
रोगी पशुको ओसारपसारबाट
रोगको रोकथाम
लम्पी स्किन रोग विरुद्धको खोप पशुहरुलाइ लगाउने
गोठ वरपरको वातावरण सफा राखी लामखुट्टे, झिगा र किर्नाको नियन्त्रण गर्ने
संक्रमित क्षेत्रबाट गाइभैसीको ओसारपसार नगर्ने
गोठमा जैविक सुरक्षा तथा सरसफाइमा ध्यान दिने ।
रोगी पशुलाइ अन्य स्वस्थ पशुहरुबाट अलग्गै राख्ने ।
रोग देखिएमा तुरुन्त नजिकको पशु सेवा शाखामा सम्पर्क गर्ने ।