मध्यपुर थिमिको नगदेशमा कृषि चिस्यान केन्द्र बन्ने
मध्यपुर थिमि, २४, असार २०८०ः
मध्यपुर थिमि नगरपालिका वडा न ७ नगदेशमा कृषि चिस्यान एवं संरक्षण केन्द्र बन्ने भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले उक्त जानकारी दिनु भएको हो ।
शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा बचत तथा ऋण सम्बन्धी जानकारी एवं सदस्य विस्तारित मञ्च कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीलाई उत्पादन र रोजगारी सँग जोड्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारबाट हरियो तरकारी संरक्षणका लागि बजेट विनियोजन गरेको र स्थानीय पालिकासँग मिलेर काम गर्ने बताउनु भयो ।
शंखधर साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहकारी विभागका रजिष्टार नवराज घिमिरेले सञ्चालक नचिनी जथाभावी धेरै ब्याजको लोभमा पर्दा सर्वसाधारणको बचत जोखिममा परेको भन्दै शिवशिखर सहकारीको उदाहरण दिनुभयो । कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधानांगले बागमती प्रदेशको सहकारी ऐनको शब्द गल्ति भएको दावि गर्दै सहकारी सिद्धान्तको पूर्ण पालना जरुरी रहेको तर्क गर्नुभयो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजु, मध्यपुर थिमि नगरपालिका सहकारी शाखा प्रमुख अभयन्द रञ्जित, मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले शंखधर सहकारी समूदायमा आधारित भएकोले संस्थाको आर्थिक पारदर्शिता र सामाजिक सेवाको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुईको थियो।
संस्थाका अध्यक्ष राम सुन्दर श्रेष्ठले संस्थाको गतिविधि, वर्तमान अवस्था एवं भावीयोजनाबारे बुदाँगत चर्चा गर्दै शेयर पुँजी ४ करोड ५७ लाख ४८ हजार ५ सय पुगेको जानकारी दिनुभयो । संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा शंखधर सहकारीका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका व्यवस्थापक राजेन्द्रकुमार कायस्थले प्रोजेक्टर मार्फत शंखधर सहकारीको इतिहासदेखि वर्तमान अवस्था सम्मको आर्थिक कारोवार बुदाँगत रुपमा जानकारी दिनुभयो । व्यवस्थापक कायस्थले संस्थामा ३८ प्रतिशत तरलता रहेको र ३ हजार १ सय ४० जना शेयर सदस्य रहेको तथ्य प्रस्तुत गर्नुभयो । संस्थाका सचिव राजु श्रेष्ठले संस्थाको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यदेखि सीप विकासका कार्यबारे संक्षिप्त जानकारी दिनुभएको कार्यक्रम शंखधर पार्टी प्यालेसमा भएको थियो ।