भक्तपुर, साउन ७, २०८०ः
कृष्ण किसि
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा “हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने” विषयमा आजअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुले विद्यार्थीलाई खुलकुद प्रति अभिप्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । यसो हुन सकेमा विद्यार्थीमा लागेको मोबाइलको लट घटाउन सकिने उनीहरुको भनाई थियो ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । यसका लागि समितिले समन्वय गरेर प्रशिक्षक पठाउन सकिने उनले बताए ।
प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास गर्न विविध समस्याहरुको बारेमा चर्चा गरे । उनले एउटै स्कुलमा धेरै जना प्रशिक्षक राख्नुपर्ने तर आर्थिक भार पर्ने भएकाले राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्ने लगायतका आर्थिक भार रहेको बताए । प्याव्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने हुने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेको बताए ।
कार्यक्रममा रामशरण त्वाती, श्याम तजले लगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रतिनिधिहरुले आआफनो विषयमा चर्चा गरेका थिए ।
कार्यक्रमको संचालन समितिका सदस्य रत्न केशरि प्रजापतिले गरेका थिए।

